नेभिगेशन
नेपाल प्रहरी

उरहरीको सैलुन पसलमा ब्राउन सुगरको कारोबार,सञ्चालकसहित चार जना पक्राउ

दाङ ।  तुलसीपुरको उरहरीस्थित सैलुन पसलबाट १६ ग्राम बढी लागुऔषध ब्राउन सुगर बरामद भएपछि सैलुन पसल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा १९ वर्षीय दीपक विकले सञ्चालन गर्दै आएको सैलुन पसलबाट १६ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएसँगै प्रहरीले चार युवकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सैलुन पसलमा फेला परेका तुलसीपुर–११ का २० वर्षीय राजन केसीको शरीर खानतलासीका क्रममा सुरुमा ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यसपछि सैलुन पसलको घर्रामा लुकाइछिपाइ राखेको अवस्थामा थप १३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त सैलुन पसलमा रहेका तुलसीपुर–१२ का २१ वर्षीय आकाश चौधरी र २४ वर्षीय ध्यानी बाँठा मगरलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सैलुन पसलबाट लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीय प्रहरी चौकी जस्पुरबाट खटिएको संयुक्त टोलीले सैलुन पसलमा खानतलासी गर्ने क्रममा उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले बताए ।

जिल्ला अदालत दाङले शनिबार साँझतिर पक्राउ परेका चारै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरलाई अनुमति दिएको जिल्ला प्रहरी दाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्