नेभिगेशन
नेपाल प्रहरी

लाखौँ ठगीका आरोपी प्रहरी कार्यालयबाटै फरार, प्रहरीकै मिलेमतोको आशङ्का

काठमाडौँ । लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन्। कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ३८ वर्षीय रामेश्वर पराजुली प्रहरी कार्यालयबाट फरार भएका हुन्।

मधेस प्रदेशका विभिन्न मन्त्रालयबाट योजना मिलाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो। सिरहामा अनुसन्धान पूरा भएपछि उनलाई महोत्तरी पठाइएको थियो।

महोत्तरीमा पनि मुद्दाको प्रक्रिया पूरा भइसकेपछि काठमाडौँका दुई प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीमाथि अनुसन्धानका लागि उनलाई पठाउने तयारी भइरहेको थियो। सोही क्रममा पराजुली प्रहरी कार्यालयबाटै फरार भएका हुन्। उनी फरार हुनुमा प्रहरीकै मिलेमतो रहेको आशङ्का गरिएको छ।

महोत्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवले जाहेरी दिएका थिए।

अदालतले दुवै कसुरमा १५–१५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम बुझाएपछि उनलाई रिहा गर्न आदेश भएको थियो।

यसैबीच, पराजुलीविरुद्ध काठमाडौँका प्रहरी वृत्त बौद्ध र गौशालामा समेत जाहेरी दर्ता भएको थियो। ती जाहेरीमाथि अनुसन्धान गर्न बाँकी रहेकाले उनलाई काठमाडौँ पठाउने तयारी गरिएको थियो।

प्रहरी वृत्त बौद्ध र गौशालाले पराजुलीलाई अनुसन्धानका लागि पठाइदिन महोत्तरी प्रहरीलाई पत्राचारसमेत गरेका थिए। भदौ २२ गते महोत्तरी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि काठमाडौँ पठाउने प्रक्रिया अघि बढाइएको थियो।

तर, प्रहरी कार्यालयबाटै उनी फरार भएपछि घटनाबारे आन्तरिक छानबिन भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारु मगरले बताए।उनले भने, “यसमा आन्तरिक छानबिन भइरहेको छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्