नेभिगेशन
सुरक्षा विशेष

वन्यजन्तुबाट पीडित बाँकेका राजपुरबासी क्षतिपूर्ति नपाएर हैरान

बाँके  । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ ।

स्थानीय खडक बहादुर ओली भन्छन्, “बाघले खोरबाटै बाख्रा तानेर लग्छ । समस्या लिएर गाउँपालिका र राष्ट्रिय निकुञ्जमा गयो भने कसैले सुन्दैन।” उषा सुनारको अनुभव अझै मार्मिक छ, उनले भनिन्, “मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो । राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ । यस्तो झन्झटिलो प्रक्रियामा को जाने?”

यसैगरी, रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताए । “हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाई हुँदैन,” उनले भने । छलफलमा सहभागी एक बहादुर खत्रीले भने, “राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहत भन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएका छन् ।”

वनशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव शान्ति चन्दले भनिन्, “क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।” लोकबहादुर विश्वकर्माले निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको गुनासो गरे ।

राजपुरका किसानहरूमाझ वन्यजन्तुबाट हुने क्षतिबाट समुदायले भोग्नुपरेको समस्याबारे छलफल गर्न र क्षतिपूर्ति प्राप्तिका उपाय खोज्न आज आयोजित ‘गोलघर सम्वाद’ कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् ।

यो कार्यक्रम युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रमको साझेदारीमा नेपालगञ्जस्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) मार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै सहजकर्ता प्रकाश उपाध्यायले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० र बीमा प्रक्रियाबारे जानकारी गराउँदै सामूहिक प्रयासमा जोड दिए ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरण र क्षतिपूर्ति प्राप्तिका लागि सबै पक्षबीच साझा समन्वय बढाउन अभियान सुरु गरिएको सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले बताए । कार्यक्रममा ५७ जनाको सहभागिता रहेको थियो ।

यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । सम्वाद कार्यक्रमको रेडियो तथा भिडियो प्रसारण समेत गरिने सीसीएनले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।