नेभिगेशन
सुरक्षा विशेष

भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्की दिएको अडियो प्रकरण संसद्मा प्रवेश

काठमाडौं । कञ्चनपुर भन्सारका एक अधिकृत र कैलालीस्थित सशस्त्र प्रहरीका एसपीबीच भएको फोन संवाद अहिले प्रतिनिधिसभासम्म पुगेको छ ।

गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपी खुम केसीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको  अडियो सार्वजनिक भएपछि सांसद टीका संग्रौलाले आजको प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद संग्रौलाले अडियोमा प्रयोग भएको  भाषाप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताइन् ।

उनका अनुसार संवादमा भन्सार अधिकृतले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक तथा गृहमन्त्रीसम्मलाई समेत चुनौती दिने किसिमको अभिव्यक्ति दिएका छन् ।

संग्रौलाले यस्तो अभिव्यक्तिले सरकारी निकायबीचको मर्यादा र चेन अफ कमान्डमाथि प्रश्न उठाएको बताउँदै ‘स्वाट्टै हान्छु’ भन्ने भनाइको वास्तविक आशय स्पष्ट पार्नुपर्ने माग गरिन् ।

उनले भन्सारका एक अधिकृतले गृहमन्त्रीलाई समेत चुनौती दिन सक्ने अवस्था हो भने राज्य संयन्त्रभित्रको अधिकार र जिम्मेवारीबारे गम्भीर प्रश्न उठ्ने बताइन् ।

उक्त अडियो प्रकरणले राज्य संयन्त्रकै छविमा असर पार्ने भन्दै संग्रौलाले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्