नेभिगेशन
नेपाल प्रहरी

डेढ महिनादेखि कोहलपुरमा चल्दै थियो अनलाइन सट्टेबाजीको धन्दा, प्रहरी छिरेपछि खुल्यो रहस्य

 

काठमाडौं । बाँकेको कोहलपुरस्थित होटल म्याक्समा करिब डेढ महिनादेखि सञ्चालन हुँदै आएको अनलाइन सट्टेबाजीको धन्दा प्रहरीको छापापछि खुलेको छ ।

काठमाडौंमा प्रहरीले अनलाइन सट्टेबाजीको कारोबार हुने स्थानमा छापा हानेर गिरोहका सदस्यलाई पक्राउ गरेपछि त्यससँग जोडिएका अन्य सदस्यहरू कोहलपुर आएर नयाँ ठाउँबाट कारोबार सुरु गरेको हुनसक्ने बाँके प्रहरीले आशंका गरेको छ ।

बाँके प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू करिब डेढ महिनाअघि कोहलपुर आएका थिए । होटल म्याक्सलाई आधार बनाएर उनीहरूले अनलाइनमार्फत सट्टेबाजी खेलाउने तथा कारोबार सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कोहलपुरमा अनलाइन सट्टेबाजी खेलाउने स्थान सञ्चालन भइरहेको स्पष्ट सूचना बाँके प्रहरी प्रमुख अंगुर जिसीसमक्ष पुगेपछि प्रहरीले तत्कालै निगरानी बढाएको थियो । सूचना पाएपछि प्रहरी टोलीले एक–दुई दिनसम्म होटलको गतिविधिमाथि विशेष निगरानी गरेको थियो ।

सूचना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईँसहितको टोली मंगलबार साँझ होटल म्याक्समा पुगेको थियो ।

प्रहरी टोलीले होटलमा छापा मार्दा ठूलो संख्यामा मानिसहरू एउटै स्थानमा बसेर विद्युतीय उपकरणमार्फत अनलाइन गतिविधि गरिरहेको अवस्थामा भेटिएका थिए । सुरुमा प्रहरीको अनुमान १०–१२ जनाको समूह हुनसक्ने थियो । तर, होटलभित्रको वास्तविक संख्या देखेपछि प्रहरीसमेत चकित परेको थियो ।

छापाका क्रममा प्रहरीले २८ थान ल्यापटप र ७८ थान मोबाइल फोनसहित विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ । बरामद उपकरणमा रहेको डाटा परीक्षणपछि गिरोहले अहिलेसम्म गरेको कारोबार, रकमको विवरण, सम्पर्कमा रहेका व्यक्ति तथा उनीहरूको नेटवर्कबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।

बरामद उपकरणको डाटा रिकभर तथा विश्लेषणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक बजगाईँसहितको आईटी एक्सपर्ट टोलीले काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले गिरोहको कनेक्सन कहाँ–कहाँसम्म रहेको छ भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ । काठमाडौंमा भएको कारबाहीसँग यसको सम्बन्ध छ कि छैन भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाँके प्रहरीले होटलबाट सुरुमा ४० भारतीय नागरिक र दुई जना नेपाली नागरिक गरी ४२ जना पक्राउ गरेको थियो । प्रहरीले छापा मार्ने क्रममा त्यहाँबाट भागेर कोठामा लुकेपनि बाँके प्रहरीको टोलीले थप ६ भारतय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकाहरू प्रारम्भिक अनुसन्धानमा अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएका छन् ।

प्रहरीले बरामद गरेको मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणको प्राविधिक परीक्षणपछि गिरोहले कति रकमको कारोबार गरेको थियो र यसको नेटवर्क कहाँसम्म फैलिएको थियो भन्ने विषय थप खुल्ने जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेकाहरुको नामावली आज दिउँसो प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट राखिएको बताइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्