नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा ४ राउन्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । नेपालगन्जमा प्रहरीले ४ राउन्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१४ मा ४ राउन्ड हवाई फायर गरी भारतको बहराइचस्थित रुपैडियाको चकिया रोडका २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार  टोलीलाई देखेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा १ राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नटेरेपछि प्रहरीले पुनः ३ राउन्ड हवाई फायर गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।

राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद भएको छ। उनको साथबाट एउटा मोबाइल र भारतीय नम्बर प्लेट यूपी ४० जे ०६५७ को मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार हवाई फायरका क्रममा कुनै पनि व्यक्ति घाइते भएका छैनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्