नेभिगेशन
नेपाल प्रहरी

४ सय ४३ किलो गाँजासहितको भारतीय कन्टेनर नियन्त्रणमा, दुई भारतीय पक्राउ

चितवन । चितवनमा भारतीय कन्टेनरभित्र गोप्य कक्ष(फल्स बटम) बनाएर ओसारपसार गर्न खोजिएको ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा बिहीबार बिहान प्रहरीले जाँचका क्रममा ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहान करिब ९ बजे हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कन्टेनर रोकेर जाँच गरेको थियो । एनएल ०१०७७९२ नम्बरको उक्त कन्टेनरको चालक बस्ने सिटपछाडिको क्याबिनमा छुट्टै गोप्य कक्ष बनाएर गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित कन्टेनरका चालक भारतको वैशाली जिल्ला चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक सोही जिल्लाको बाबन घाटका २० वर्षीय रौनक कुमारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर बरामद लागुऔषधको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्