नेभिगेशन
नेपाल प्रहरी

एसपी जिसीको नेतृत्वमा बाँके प्रहरी फेरि देशकै उत्कृष्ट, नौ महिनामा पाँचौँ पटक प्रथम

एसपी जिसी भन्छन्– ‘उपलब्धि व्यक्तिगत होइन, 'मेरो टिमको सामूहिक प्रयासको परिणाम हो'

काठमाडौं  । प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यसम्पादन मूल्याङ्कनमा फेरि देशभरकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालयको स्थान हासिल गरेको छ। ‘क’ श्रेणीका जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले लगातार तेस्रो महिनासहित पछिल्लो नौ महिनामा पाँचौँ पटक प्रथम स्थान हासिल गरेको हो।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार बाँके प्रहरी असार, साउन र भदौमा लगातार प्रथम भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके देशभरकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बनेको थियो भने जेठमा दोस्रो स्थान हासिल गरेको थियो।

यससँगै एसपी जिसीको नेतृत्वमा पछिल्लो नौ महिनाको अवधिमा बाँके प्रहरी कार्यसम्पादन मूल्याङ्कनमा पाँच पटक प्रथम र एक पटक दोस्रो हुन सफल भएको छ।

‘क’ श्रेणीका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको हो। कार्यसम्पादनमा बाँकेले काठमाडौं, ललितपुरलगायतका ठूला जिल्ला प्रहरी कार्यालयलाई समेत पछि पार्दै अग्रस्थान कायम गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाँके प्रहरीले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, अनुसन्धान, फैसला कार्यान्वयन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको छ।

एसपी जिसीले जिम्मेवारी सम्हालेपछि जिल्लामा गम्भीर तथा जघन्य प्रकृतिका अपराधका घटनामा अनुसन्धानलाई तीव्रता दिइएको छ। ठूला अपराधका मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउनुका साथै लामो समयदेखि अनुसन्धान तथा कारबाहीको चरणमा रहेका सयौँ मुद्दा टुङ्ग्याउने काम भएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयन अभियानलाई समेत प्राथमिकतामा राखेको बाँके प्रहरीले फरार अभियुक्त पक्राउदेखि अदालतबाट भएका फैसला कार्यान्वयनसम्मका कामलाई प्रभावकारी बनाएको छ। त्यस्तै, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्दै ठूलो परिमाणमा अवैध सामान बरामद गर्नुका साथै करोडौँ रुपैयाँ राजस्व संकलनमा समेत योगदान पुर्‍याएको छ भने लागूऔषधविरुद्धको कारबाही झनै उत्कृष्ट बनेको छ।

प्रहरीको कार्यसम्पादनमा नागरिकमैत्री सेवा, प्रविधिको प्रभावकारी प्रयोग, प्रमाणमुखी अनुसन्धान र मातहतका प्रहरी इकाइको सक्रिय परिचालनलाई महत्वपूर्ण आधार मानिएको छ। सर्वसाधारणका गुनासा तथा उजुरीको शीघ्र सुनुवाइ, आधुनिक प्रविधिको प्रयोगमार्फत प्रमाण संकलन र अपराध अनुसन्धानमा देखिएको सक्रियताले प्रहरीको समग्र कार्यसम्पादनमा सुधार ल्याएको प्रहरीको दाबी छ।

एसपी जिसीले भने यो उपलब्धि आफ्नो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक प्रयासको परिणाम भएको बताएका छन्।

“प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादनलाई देशभरमै उत्कृष्ट ठहर गरेकोमा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्छु,” उनले भने, “अबको प्राथमिकता भनेको बाँके प्रहरीले बाँकेबासीलाई अझ सुरक्षित अनुभूति गराउने, पीडितलाई छिटो न्याय दिलाउने र प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने हो।”

उनका अनुसार जिल्लामा अपराध, लागुऔषध कारोबार तथा सीमामा हुने अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीतिलाई निरन्तरता दिइएको छ। अपराध नियन्त्रणसँगै पीडितलाई न्यायको अनुभूति गराउने विषयलाई प्रहरीले प्राथमिकतामा राखेको उनले बताए।

“पीडित न्यायबाट वञ्चित नहोस् भन्ने हाम्रो पहिलो दायित्व हो। अपराधीमाथि कुनै पनि हालतमा सम्झौता हुँदैन,” एसपी जिसीले भने।

बाँकेका स्थानीय बासिन्दाले पनि पछिल्लो समय प्रहरीको कार्यशैलीप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। नरैनापुरलगायत सीमावर्ती क्षेत्रका स्थानीयले प्रहरीको सक्रियताले सुरक्षाको अनुभूति बढेको बताएका छन्।

“पहिले जस्तो असुरक्षा महसुस हुँदैन, प्रहरीले काम गरेको देखिन्छ,” स्थानीयको भनाइ छ, “अनावश्यक दबाबमा नपरी कानुनअनुसार काम गर्ने नेतृत्व पाउँदा हामी ढुक्क छौँ।”

कतिपय स्थानीयले एसपी जिसीलाई अझ केही समय बाँकेमै बसेर काम गर्न पाए जिल्लाको सुरक्षा व्यवस्थापनमा थप प्रभावकारी परिणाम आउने अपेक्षा व्यक्त गरेका छन्।

पछिल्लो नौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पाँच पटक प्रथम र एक पटक दोस्रो स्थान हासिल गर्न सफल हुनुले बाँके प्रहरीको कार्यसम्पादनमा आएको निरन्तर सुधारलाई देखाएको छ। एसपी जिसीको नेतृत्वमा बाँके प्रहरीले अपराध नियन्त्रणदेखि नागरिक सेवा र सीमा सुरक्षासम्मका क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्