नेपालगञ्ज। भन्सार कर संकलनमा खुला सीमा चुनौति रहेको भन्दै भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको छ ।
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपालगञ्ज भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा मुलुकको प्रमुख राजश्व स्रोतको रुपमा रहेको भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले खुला सीमाले चुनौति थपेको भन्दै त्यसलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए । राजस्व चुहावटलाई निरुत्साहित पार्न निजी क्षेत्र पनि लाग्नुपर्ने रिजालले बताए ।
भन्सार छली अपराध हो भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाई छ । रिजालले भन्सार नीति र मूल्यांकन पद्धति पुनरावलोकन गर्न आवश्यक देखिएको समेत बताए ।
भारतीय कस्टमका डेपुटी कमिसनर नन्देश्वर सिंहले सीमा नाकामा जनताले सामना गरिरहेका साना साना अप्ठेरोलाई सम्बोधन गर्ने गरी आगामी महिना दुई देशबीच संयुक्त बैठक बस्ने तयारी गरिरहेको बताए । उनले नाकामा काम गरिरहेका एजेन्टहरुलाई पनि सतर्कतापूर्वक काम गर्न आवश्यक रहेको बताए ।