सौरभ गिरी/बाँके । प्रसङ्ग हो नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोर आगलागी घटनाको । गत शनिबार भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको थियो ।के कति कारणले आगलागी भएको भन्ने बारेमा अझै केही खुल्न सकेको छैन ।
कतै यो रहस्यमय त हैन भन्ने बारेमा अनेक प्रश्नमाथि प्रश्न उठ्न थालेका छन् । कार्यालय समयका दिन खुल्ने मेडिकल स्टोर किन शनिबार खोलियो ? एउटा कौतुहलता । मेडिकल स्टोर शनिबार खुलेको भए पनि त्यसबेला मेडिकल स्टोर इन्चार्ज उदय वीर शाही उपस्थित हुनुपर्ने हो कि नाई ? अर्को कौतुहलता । स्टोर शाहीको रोहबरमा खोल्नुपर्ने हो । यदि उनी त्यहाँ नभएको भए उनले कसलाई र किन जिम्मेवारी दिएको हो भन्ने प्रश्न उब्जिएको छ ।
अर्को कौतुहलता- आगलागी हुँदा त्यहाँ रहेका कर्मचारीहरुले के हेरेर बसे ? मेडिकल स्टोरमा सिसीटिभी क्यामेरा जडान थियो वा थिएन ? यदि थियो भने क्यामेरा त्यो चालु अवस्था थियो वा थिएन ? यस्तै थुप्रै कुराहरुमा कौतुहलता सिर्जना भएको छ ।
यतिबेला आगलागी घटनाको अनुसन्धानका लागि एउटा छानबिन समिति बनाइएको छ । उक्त समितिले आगलागी घटनाको रिपोर्ट ढिलोचाँडो पेश गर्ला । तर धेरै यस्ता घटना भएका छन्, जसमा छानबिन हुने क्रममा सम्बन्धित इन्चार्जलाई जिम्मेवारीबाट हटाइएको छ ।
एउटा उदाहरण गत वर्ष सशस्त्र प्रहरीको गोदाममा भएको आगलागी घटनामा सम्बन्धित सशस्त्र प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो । त्यो गर्न के भेरी अस्पताल प्रशासनले सक्ला त ?
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले भने-"हामीले अस्पताल बिकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालको संयोजकत्वमा विशेष छानबिन समिति बनाएका छौं।" उक्त समितिमा धितालसहित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला सरकारी वकिल कार्यालय, कोष लेखा तथा नियन्त्रक कार्यालय बाँके,औषधि व्यवस्था विभाग नेपालगन्ज , विद्युत प्राधिकरणसहित दुई जना विशेष विशेषज्ञ प्रतिनिधि छानबिन समितिमा रहेर अनुसन्धानको कार्य सुरु गरिसकेको डा. सुवेदीले बताए।
मेडिकल स्टोर प्रमुखको सवालमा उनलाई जिम्मेवारीबाट नहटाइएको सुवेदीले बताए । त्यो बारेमा छानबिन सकिए पश्चात छानबिन समितिको प्रतिवेदनका आधारमा गलत भेटिए कारबाही समेत हुने मेसु सुवेदीले भने ।
उनका अनुसार आगलागी भएको दिनको अनुमानका आधारमा ४ करोडको हाराहारीमा भनिए पनि अहिलेको प्रारम्भिक अनुसन्धानमा १ करोड भन्दा कम मूल्य बराबरको क्षति भएको देखिन आएको हो । आगलागीको दिन सबै जलेको भनिए पनि आगोको धुवाँले औषधि कालो भएको र धेरै जसो औषधि प्रयोग गर्न मिल्ने देखिएको छ भने बाँकी प्रयोग गर्न नमिल्ने औषधि, औषधि व्यवस्था विभागको निर्णय अनुसार गरिने मेसु सुवेदीले बताए ।