नेभिगेशन
नेपाल प्रहरी

विभिन्न देशमा पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले  ४  जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंस्थित तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् । 

पक्राउ परेकामध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ र लोकजनले थाईल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयले बिकासलाई काठमाडौं महानगरपालिका-१२२ बाट , रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट , यादव प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्