काठमाडौँ । काठमाडौंस्थित तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिलको कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।
आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् । यद्यपि राणा र मिश्रलाई हाजिरीजमानीमा रिहा गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।