पाल्पा। प्रहरी निरीक्षक रामबहादुर नेपालीको कमान्ड रहेको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले प्रहरीको निगरानी सूचीमा परेका टोले गुण्डा नाइके २५ वर्षीय आदेश रानालाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा गएको टोलीले रानालाई रामपुर नगरपालिका-४ अधेरीखोलास्थित कालीगण्डकी करिडोर सडकखण्डबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ। रानासँगै प्रहरीले उनका सहयोगी २५ वर्षीय धनबहादुर दर्लामीलाई पनि पक्राउ गरेको जनाएको छ।
रामपुर प्रहरीका अनुसार रानाले मंगलबार राति लु ३ च ७२६१ नम्बरको गाडीमा नवलपरासीको भुमहीबाट स्याङ्जामा घरमा पाल्नको लागि लैजादै गरिएको जर्सी गाई टोले गुण्डा रानाले बाटो छेकेर जर्सी गाईका धनीलाई धम्की दिएर पैसा माग्दै कुटपिट गरेका थिए ।
जर्सी गाई धनीले आफूमाथि गरिएको व्यहोराका बारेमा तत्काल प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक नेपालीको कमान्डमा गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय रामपुरले दिएको जानकारी अनुसार पक्राउ परेका टोले गुण्डा रानाले पाल्पास्थित रामपुर क्षेत्रमा गुण्डागर्दी, लुटपाट, धाक-धम्की, अबैध असुली लगायतका गैरकानूनी कार्य गर्दै आएका उनलाई प्रहरी निगरानीको सूचीमा राखेको थियो ।
पक्राउ परेका दुई जनाविरुद्द बुधबार पाल्पा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।