नेभिगेशन
नेपाल प्रहरी

इन्स्पेक्टर दिनेश गुरुङ बलात्कार र ज्यान मार्ने उद्योगमा पक्राउ,पूर्व श्रीमतीले दिएकी थिइन् जाहेरी

काठमाडौं । नेपाल प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् । इन्स्पेक्टर दिनेश गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।

नेपाल प्रहरीको एक नम्बर गणमा कार्यरत इन्स्पेक्टर गुरुङविरुद्ध ज्यान मार्ने उद्योग  तथा जबरजस्ती करणी मुद्दामा परेको हुँदा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

पूर्वश्रीमती शुभद्रा दाहालले इन्स्पेक्टर गुरुङमाथि  जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको जाहेरी दिएपछि पक्राउ गरिएको  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् । इन्स्पेक्टर गुरुङले साउन ३० गते बेलुका गुरुङले महालक्ष्मी-४ इमाडोलस्थित आफ्नो निवासमै आएर कुटपिट तथा जबरजस्ती करणी उद्योग गरेको दाहालको  जाहेरीमा उल्लेख रहेको छ।

जाहेरी दर्तासँगै गुरुङलाई जिल्ला अदालत ललितपुरबाट ५ दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी जोशीले बताए।

इन्स्पेक्टर गुरुङ र दाहालको एक वर्षअघि नै डिभोर्स भएको थियो। कान्छी छोरीलाई घरसम्म पुर्‍याउन गएको बेला दाहालले नै हातपात गर्दा एक झापड आफूले हानेको गुरुङको स्वीकारोक्ति छ।

दाहालले आफूमाथि आक्रमण तथा जबरजस्ती करणी उद्योग भएको भन्दै सामाजिक सञ्जालमै रक्ताम्य फोटो पोस्ट गरेकी थिइन्।आफूमाथि पूर्वपतिले हिंसा गर्दै आएको दाहालले बताउने गरेकी थिइन्। यसअघि पनि उनीहरूबीच कुटपिट हुने गरेको थियो। दाहालले आफूलाई गणमै एक डिएसपी र दुई इन्स्पेक्टरको अगाडि हातपात गरेको गुरुङले दाबी गरेका छन्।

ललितपुर प्रहरीले इन्स्पेक्टर गुरुङलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्