काठमाडौं । नेपाल प्रहरीका वर्तमान प्रहरी प्रमुख आईजीपी दीपक थापा अहिलेको प्रहरी ऐन र नियमावली परिवर्तन नभए भदौ महिनामै अवकाश जाँदै छन् । नेपाल प्रहरीका ३१ औं आईजीपी थापाको नेपाल प्रहरीको ३० वर्षे सेवाअवधि यही भदौ १८ गते सकिदैछ। सोही दिन आईजीपी थापा अवकाश जान लागेका हुन् ।
वि.सं. २०५२ भदौ १९ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका थापा २०८१ चैत ४ गते ३१ औं आईजीपीमा नियुक्त भएर करिब ६ महिना नेपाल प्रहरीको कमाण्ड सकेर भदौ १८ गते अवकाशमा जाँदै गर्दा नयाँ प्रहरी प्रमुखबारे चर्चा परिचर्चा सुरु भइसकेको छ।
अबको नेपाल प्रहरीको ३२ औं आईजीपीमा एआईजी चन्द्र कुबेर खापुङ हालसम्म सबैभन्दा बलिया एक्ला दाबेदार हुन् । यदि खापुङ आईजीपी नियुक्त भए उनले आगामी कात्तिक २६ गतेसम्म नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने छन् । हालका सबैभन्दा सिनियर एआईजी सुदिप गिरी र अर्का एआईजी टेकबहादुर तामाङ पनि भदौ १८ गते ३० वर्षे सेवाअवधिका कारण अवकाश जाँदै छन। खापुङ भन्दा सिनियर अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल भएपनि ५६ वर्षे उमेरहदका कारण उनी भदौ १५ गते नै अनिवार्य अवकाश जाने हुँदा खापुङ पछिल्लो लटका सबैभन्दा सिनियर एआईजी हुँदै ३२ औं आईजीपी बन्ने बाटोमा छन् ।
हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख रहेका एआईजी खापुङ २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका थिए। उनी हालका आईजीपी थापाकै लटमा भर्ना भएपनि सबैभन्दा पछिल्लो लटमा नियुक्ति पाएका थिए। थापाको ब्याचका इन्स्पेक्टरहरुलाई ३ चरणमा नियुक्ति दिइएको थियो। सबैभन्दा पहिलो २०५१ चैत ५ को लटमा नियुक्ति पाएका यसअघिका आईजीपी बसन्त बहादुर कुँवर २०८१ चैत ५ मा अवकाश गइसकेका छन्। यसैगरी दोस्रो लटमा हालका आईजीपी थापा,गिरी र तामाङले नियुक्ति पाएका थिए। उनीहरु एक साथ भदौ १८ गते अवकाश जान लागेका हुन् ।
त्यसैगरि तेसो लटमा लालमणी आचार्य , कृष्णहरि र खापुङले नियुक्ति पाएका थिए। खापुङ भन्दा सिनियर एआईजी आचार्य यसअघि २०८२ जेठ १० मा ५६ वर्षे उमेरहदका कारण अवकाश गइसकेका छन् । अर्का सिनियर एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका हुन् ।
२०८२ बैशाख १६ गते एआईजी नियुक्त भएका खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा चिनिन्छन। एआईजी खापुङ एसपी हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन,एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा डीआईजीमा प्रदेश प्रहरीको कमाण्ड गरेको अनुभव छ भने हाल एआईजीमा सीआईबीको प्रमुखका रूपमा कार्य गरिरहेका छन् ।
खापुङसँगै एआईजी बढुवा भएका ६ जना मध्ये उनी एक नम्बरमा छन् । हालका अन्य एआईजीहरु दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसी र सिद्दी बिक्रम शाह पछिल्लो ब्याचका हुन् । कतै गडबड नभए र राजनीतिक खिचातानीले कुनै अप्रिय निर्णय नलिए खापुङ थोरै समय भएपनि नेपाल प्रहरीको ३२ औं आईजीपीमा आफ्नो नाम दर्ज गर्नेछन्।