नेभिगेशन
सुरक्षा विशेष

त्रिभुवन विमानस्थलका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय, सुरक्षा जोखिमको आशंका

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारी सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययनमा हाल कार्यरत नरहेका कर्मचारीको चार हजार ७२ वटा पास सक्रिय देखिएको पाइएको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका उक्त सक्रिय रहेका पुराना प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया तीव्र बनाइएको छ ।

प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलले हाल कार्यरत नरहेका तर प्रणालीमा सक्रिय देखिएका चार हजार ७२ प्रवेश पासमध्ये ५०७ वटा सङ्कलन गरी प्वाल पारेर नष्ट गर्ने तथा प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया सुरु गरिएको बताए ।

सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको, केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरेका र केहीलाई फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको महानिर्देशक डङ्गोलले जानकारी दिए ।

प्राधिकरणका अनुसार सन् २०२४ जनवरी १ देखि हालसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका लागि फोटोसहितका स्थायी प्रवेश पास १२ हजार ४०२ र फोटोरहित अस्थायी पास एक हजार ४१३ गरी कूल १३ हजार ८१५ पास जारी गरिएको छ ।

तीमध्ये फोटोसहितका सात हजार ६७७ पास सक्रिय र चार हजार ७२५ पास निष्क्रिय छन् भने फोटोरहित पासमध्ये एक हजार ३२८ सक्रिय तथा ८५ निष्क्रिय छन् ।

प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० ९तेस्रो संशोधन० अनुसार प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको जनाएको छ ।

कार्यविधिको नियम २० अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कुनै कारणले जिम्मेवारीमा नरहेमा तीन दिनभित्र प्रवेश पास फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २०१ संस्था आबद्ध छन् । प्रत्येक संस्थाले आफ्नै नियमअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा ‘आउटसोर्सिङ’ कर्मचारीको वर्गीकृत विवरण तत्काल उपलब्ध नभएको जनाएको छ ।

महानिर्देशक डङ्गोलका अनुसार प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी हुने गरेको छ ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा एवं अन्य संवेदनशीलतालाई ध्यानमा राखेर यस क्षेत्रको सुधार तथा सुरक्षा चुस्तताका लागि प्रधानमन्त्री कार्यालयले ध्यान दिएको छ । सोही बमोजिम नै विमानस्थल प्रवेश पासका विषयमा अध्ययन गरेर तिनको दुरुपयोग पनि हुनसक्ने आशङ्कामा प्रधानमन्त्री कार्यालयले यो पहल थालेको दाबी गरेको छ । –रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"