काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार तथा कर्मचारीलाई प्रभावित बनाएको छ। बाढीका कारण दुई जिल्लाका विभिन्न आयोजनामा कार्यरत ९३४ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादक संघले जनाएको छ।
संघका अनुसार बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ११ वटा आयोजनामा कार्यरत कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका हुन्।
प्रभावितमध्ये रसुवामा अवस्था अझ गम्भीर देखिएको छ। जिल्लाका ६ वटा आयोजनाका ७३० जना सम्पर्कबाहिर छन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाका मात्रै ५७६ जना सम्पर्कविहीन छन्। यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमेका ८ जना र ५ मेगावाटको मैलुङ खोलाका ७ जना सम्पर्कमा आएका छैनन्।
त्यसैगरी, निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाका ४ जना पनि सम्पर्कविहीन रहेको संघले जनाएको छ। नुवाकोटका ५ आयोजनाका २०४ जना बेपत्ता
बाढीको प्रभाव नुवाकोटका जलविद्युत् आयोजनामा पनि परेको छ। जिल्लाका ५ वटा आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन छन्।
निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाका १५८ जना सबैभन्दा बढी सम्पर्कविहीन छन्। सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना पनि सम्पर्कबाहिर छन्।
यस्तै, निर्माणाधीन मिडल त्रिशूली गंगाका २ जना, त्रिशूली जलविद्युत् आयोजनाका १ जना र देवीघाट जलविद्युत् आयोजनाका १ जना सम्पर्कमा आउन नसकेको संघले जनाएको छ।
बाढीका कारण सडक तथा यातायात सम्पर्क अवरुद्ध भएपछि सम्पर्कविहीनहरूको खोजी र उद्धार थप कठिन बनेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत २५४ जनाको सकुशल उद्धार गरिएको छ। तर सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध रहेकाले लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए र चिलिमे जलविद्युत् आयोजनामा रहेका व्यक्तिहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ। उनीहरूको उद्धारका लागि हेलिकप्टरको तत्काल आवश्यकता रहेको बताइएको छ।
सम्पर्कविहीनको सूची-

