नेभिगेशन
नेपाल प्रहरी

सुनका गहना लुट्न वृद्धाको हत्या, रुकुमबाट भागेका युवक पोखराबाट पक्राउ 

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका–१ गरबाङकी ६७ वर्षीया कृष्णा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भूमे–१ लुगुमका ३१ वर्षीय अक्कल भनिने अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कृष्णाको हत्या गरी उनले कानमा लगाएका सुनका गहना र घरमा रहेको नगदसमेत लिएर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अर्जुनको साथबाट करिब एक तोला बराबरका सुनका मुन्द्रा र केही नगद बरामद भएको प्रहरीले जनाएको छ।

कृष्णा घरमा एक्लै बस्दै आएकी थिइन्। सुनका गहना लुट्ने उद्देश्यले अर्जुनले घरभित्रै पटुकाले घाँटी कसेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कास्की प्रहरीको सहयोगमा पोखरा महानगरपालिका–८ मा लुकिछिपी बसेको अवस्थामा अर्जुनलाई पक्राउ गरिएको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए।

प्रहरीका अनुसार कृष्णाको हत्या भदौ १५ गते बेलुकी करिब ७ बजे भएको देखिएको छ। तर, घरका सदस्यले भने भदौ १८ गते मात्रै उनको हत्या भएको थाहा पाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्