नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधविरुद्ध प्रहरीको कारबाही: २९ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशभर सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा २९ जना पक्राउ परेका छन् । विभिन्न जिल्लाबाट ब्राउन सुगर, खैरो हेरोइन तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतबाट ११ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित ३० वर्षीय हरिश प्रसाद जोशी पक्राउ परेका छन् । उनी भीमदत्त नगरपालिका–६ का बासिन्दा हुन् । त्यस्तै, भीमदत्त नगरपालिका–३ राजीपुरबाट १ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित कैलालीको जोशीपुर गाउँपालिका–१ घर भएका २२ वर्षीय सुदिप चौधरी पक्राउ परेका छन् ।

बेदकोट नगरपालिका–६ सिसैयाबाट १५० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१० हरपाल बस्ने २३ वर्षीय मिन बहादुर ठगुन्नासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। त्यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरबाट ट्रामाडोल १४७ ट्याब्लेटसहित २८ वर्षीय सोकिन सोमै मगर पक्राउ परेका छन् । प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

  प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट ट्रामाडोल ४७० ट्याब्लेट र डिकोलिक ४४० ट्याब्लेटसहित २५ वर्षीय गोपाल तामाङसमेत दुई जना पक्राउ परेका छन् भने इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट १५ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र नगद १८ हजार १८० रुपैयाँसहित २३ वर्षीय मोहमद अफ्रोज हुसेन पक्राउ परेका हुन ।

धरान उपमहानगरपालिका–५ काठेपुलबाट ८४० मिलिग्राम ब्राउन सुगर र नगद २३ हजार २०० रुपैयाँसहित २९ वर्षीय अनम राईसमेत दुई जना पक्राउ पर्दा भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित चिया पसलबाट ट्रामाडोल ५० ट्याब्लेटसहित सञ्चालक सुशिल बासीसमेत ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सल्यानको शारदा नगरपालिका–२ खलंगाबाट १४० मिलिग्राम खैरो हेरोइनसहित दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका ३१ वर्षीय विनय बुढाथोकी पक्राउ परेका छन् ।रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतीनगरबाट ३ ग्राम २६० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय सुन्दर डुम्रेल पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका–३ शान्तीकुञ्जबाट स्पास्मो २३२ ट्याब्लेट र नाइट्रोसन ५२ ट्याब्लेटसहित लुम्बिनी साँस्कृतिक नगरपालिका–१० बस्ने ३५ वर्षीय राजेन्द्र कुमार भुजसमेत पाँच जना पक्राउ परेका छन् । उनीहरूले प्रयोग गरेका दुई वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

त्यसैगरि,    मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट १० ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित ग्रामथान गाउँपालिका–७ बस्ने ३१ वर्षीय तेतरलाल सास पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि  सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्