काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय १६ ग्राम ५ सय मिलिग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुरेश उप्रेती, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका २६ वर्षीय अमित बस्नेत, सिराहा गोलबजार नगरपालिका–१० घर भएका २५ वर्षीय अजय कुमार महत्तो र ३२ वर्षीय सत्रुधन मुखिया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेश र अमितलाई ब्राउन सुगर ९५ ग्राम ५ सय मिलिग्राम तथा अजय र सत्रुधनलाई ब्राउन सुगर २१ ग्रामसहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत उत्तराखण्ड काशीपुर घर भएका २८ वर्षीय मोहम्मद सारिक र उत्तर प्रदेश लखनउ घर भएका २९ वर्षीय आलम शहबाज रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ५ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा केराबारी नगरपालिका–९ बस्ने २५ वर्षीय नवीन राई र सोही नगरपालिका–१ बस्ने ३३ वर्षीय मणिराज गुरुङ रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नवीनलाई १ ग्राम १ सय ९० मिलिग्राम र मणिराजलाई ३ ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी पाथीभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी नगरपालिका–८ घर भएका २६ वर्षीय आभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–५ हुलाक लाइन बस्ने ४१ वर्षीय रोहित श्रेष्ठलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ८ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त ब्राउन सुगर फेला पारी उनलाई पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान–४ काठेपुल बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ शान्ती पथ बस्ने ३६ वर्षीय दिपक मगर र धरान–१५ बस्ने ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन्।
उदयपुरको बेलका नगरपालिका–४ विज्ञानटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेटसहित सोही ठाउँ बस्ने २७ वर्षीय सबिन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले गुरुङचौरीबाट विज्ञानटोलतर्फ जाँदै गरेको को.३४ प ७९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।