नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेका सीमावर्ती वडाध्यक्षसँग सशस्त्र प्रहरीको अन्तरक्रिया, सीमा सुरक्षा प्राथमिकतामा

नेपालगन्ज । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तथा सीमावासीसँगको सम्बन्ध र समन्वय थप मजबुत बनाउने उद्देश्यले बाँकेमा सशस्त्र प्रहरी र सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न कार्यक्रममा बाँके जिल्लाको अन्तर्राष्ट्रिय सीमासँग जोडिएका स्थानीय तहका वडाध्यक्षहरूसँग सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुसार आयोजित अन्तरक्रियामा सीमा क्षेत्रमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन, अवैध हातहतियार ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बिन्ध्याबासिनी बाहिनीले जनाएको छ।

बिन्ध्याबासिनी बाहिनीका अनुसार सीमा क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक सद्भाव अभिवृद्धि, सीमा निगरानीलाई प्रभावकारी बनाउने, सीमावासीले सशस्त्र प्रहरीसँग राखेका अपेक्षा तथा सीमा क्षेत्रमा आवागमन र गतिविधिलाई सहज बनाउने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीमा क्षेत्रका समस्या समाधानमा संयुक्त पहल गर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, नं. ४२ रिजर्भ गण मुख्यालय शमशेरगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्याम रावत, बाँकेका सीमावर्ती स्थानीय तहका वडाध्यक्षहरू, जिल्लास्थित सशस्त्र प्रहरीका सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरूको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेमा कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्