काठमाडौं । नेपाल प्रहरीले झण्डै ६ हजार फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भेको छ। पछिल्लो ५ महिनामा देशभरबाट प्रहरीले ५ हजार ८ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसपी विश्व अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।
एसपी अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका १ हजार ५ सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट १ हजार सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।
त्यस्तै कोशीबाट ७ सय ३५, बागमतीबाट २ सय ६५, गण्डकीबाट ५ सय ६, लुम्बिनीबाट १ हजार ३५, कणालीबाट १ सय ६९ र सुदूरपश्चिम प्रदेशबाट २ सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट ४३ करोड पाँच लाख ४२ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद १ हजार ९ सय ६८ वर्ष ९ महिना ८ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराउ र कारागारसमेत पठाइएको एसपी अधिकारीले बताए ।