नेभिगेशन
सुरक्षा अपडेट

भारतीय यात्रु बोकेको बस दाङको कोइलावासमा दुर्घटना, दुई दर्जन घाइते

दाङ । दाङको कोइलावास सडकखण्डको चिसापानी नजिकै भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। युपी ३२ एम एन ९५६६ नम्बरको भारतीय यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय गढवाले स्थानीयको सहयोगमा घाइतेहरूको उद्दार गरेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।उनीहरूलाई गढवा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत भारतको तुलसीपुरस्थित स्वास्थ्य केन्द्रतर्फ रिफर गरिएको छ।

आज दिउँसो लखनउबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा परेको थियो। बसमा सवार यात्रुहरु भारतीय सेनाका परिजन रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

गम्भीर घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि भारततर्फ लैजाने तयारी भइरहेको गढवा प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। तीव्र गतिमा आएको बस मोडमा सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।दुर्घटनाले लम—कोइलावास सडकखण्डमा ट्राफिक सुरक्षाको अवस्था र बस संचालनमा हुने लापरबाहीप्रति फेरि एकपटक प्रश्न उठाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्