काठमाडौं । गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ८ कर्मचारीलाई अन्यत्र सरुवा गरेको छ।
गृह मन्त्रालयले अध्यागमनका नासुहरु वीरभद्र जोशी र प्रेम प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरेको हो। त्यसै अर्का नासु नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँके सरुवा गरिएको हो।
त्यसैगरी, गृहले अध्यागमन कार्यालयका कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ, धनराज उपाध्याय र सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको कारागार व्यवस्थापन विभाग वा अन्तर्गतमा सरूवा गरेको हो।
त्यस्तै गृह मन्त्रालयले अन्य ६ जनालाई पनि अध्यागमनबाट मन्त्रालयले तानेको थियो। यसअघि गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृहमा तानेको थियो।
भट्टराईको सरूवा भएलगत्तै अख्तियारले अध्यागमनमा छापा हानेको थियो। अख्तियारले नियन्त्रणमा लिएर उनको मोबाइल र अन्य डिभाइस लिएको छ।
अध्यागमन कार्यालयले बिचौलियाको सेटिङमा रकम असुली गरी भिजिट भिसामा पठाउन सहजीकरण गरिदिएको आरोप लागेको छ। अध्यागमनका कर्मचारीले ठूलो रकम लिएर मानिसलाई विदेश पठाउन सहजीकरण गरेको आरोप लागेको हो।
अख्तियारले उक्त घटनामा अनुसन्धान थालेपछि गृह मन्त्रालयले ठूलो संख्यामा कर्मचारी हेरफेर गरेको हो।