नेभिगेशन
सुरक्षा विशेष

आर्थिक वर्ष ०८२-०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुख दिपक थापाबीच आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव  दुवाडी र प्रहरी प्रमुख थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान गरेका हुन् । 

गृहमन्त्री रमेश लेखकले शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा चुनौतिको रूपमा देखा परेको लागूऔषध, साइबर अपराध, सवारी दुर्घटना एवम् आत्महत्या न्यूनीकरणमा अझ क्रियाशील भई परिणाममुखी ढंगले कार्य गर्नुपर्ने बताएका थिए । कार्यसम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा परम्परागत शैली भन्दा पनि नविनतम् ढंगले नागरिकको समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थित परिचालन गरी सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताए। 

उक्त अवसरमा गृहसचिव दुवाडीले अहिले प्राप्त गरेको कार्यसम्पादनको प्रगति एवम् नतिजालाई आधार मानेर आगामी दिनमा अझ बढि प्रभावकारिता हासिल गर्न तथा सेवा भावका साथ आम नागरिकले अनुभूति गर्न सक्ने किसिमको सेवा प्रवाह गर्नको लागि उच्च स्तरको कार्यसम्पादन गर्नुपर्ने बताएका थिए। सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गरे ।

गृहमन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव दुवाडी र प्रहरी महानिरीक्षक थापाबीच उक्त सम्झौता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्