नेभिगेशन
सशस्त्र प्रहरी

एसपी खनाल कमाण्डको बाँके सशस्त्र प्रहरीलाई ठूलो सफलता, ११.३५ करोडको अवैध सामान बरामद

'सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई उच्च प्राथमिकता'

सौरभ गिरी/नेपालगन्ज। अहोरात्र खटिएको एसपी शोभाकान्त खनालको कमाण्डको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण, बागेश्वरी बाँकेले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । सीमा अपराध नियन्त्रणदेखि अवैध तस्करीविरुद्ध आक्रामक रूपमा उत्रिएको सशस्त्र प्रहरी बल बाँकेले उल्लेखनीय उपलब्धि हासिल गरेको स्पष्ट देखिएको छ।

सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेका अनुसार गत फाल्गुनदेखि  मंसिर मसान्तसम्मको अवधिमा विभिन्न कारबाहीमार्फत ११ करोड ३५ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो।

यस अवधिमा सशस्त्र प्रहरीले लागुऔषधविरुद्धको  गरेको १५ वटा कारबाहीमा ठुलो परिमाणको लागुऔषधसहित ४३ जना पक्राउ परेका छन् । सीमा सुरक्षाअन्तर्गत १७३ पटक एकल गस्ती तथा २७४ पटक भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले जानकारी दिएको छ । साथै सीमा स्तम्भको सुरक्षाका लागि समय–समयमा एकल तथा संयुक्त गस्ती सञ्चालन हुँदै आएका छन् ।

मानव बेचबिखनविरुद्ध गरिएको ३३ वटा कारबाहीतर्फ उद्धार तथा नियन्त्रणको संख्या २७ रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

त्यसैगरी विपद् व्यवस्थापनतर्फ २७ पटक उद्धार तथा राहतसम्बन्धी कार्य गरिएको छ भने सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै ४५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ‘सशस्त्र प्रहरीसँग सीमावासी’ कार्यक्रमलगायत सीमा अपराध नियन्त्रणसम्बन्धी एउटा विशेष कार्यक्रम पनि सम्पन्न गरिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।

एसपी खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले सीमा सुरक्षालाई अझ सुदृढ बनाउँदै अपराध नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढाउँदै गएको स्थानीय सरोकारवालाको भनाइ छ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्