नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको लाखौं रुपैयाँसहित भारतीय महिला भन्सार क्षेत्रबाट पक्राउ

काठमाडौं । नेपाल –भारत सीमावर्ती क्षेत्रमा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक भारतीय महिलालाई पक्राउ गरेको  छ।

प्रहरीका अनुसार रौतहटको गौर भन्सार क्षेत्रबाट पैदल नेपाल प्रवेश गर्दै गरेकी भारतको बिहार राज्यस्थित सितामढी जिल्लाको बैरगनियाकी ४५ वर्षीया रामकली देवीलाई शङ्कास्पद अवस्थामा फेला पारेर जाँच गर्दा नगद रकम बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले उनलाई रोकी खानतलासी गर्दा नेपाली र भारतीय मुद्रा गरी जम्मा २ लाख ५० हजार ३ सय ६० रुपैयाँ बराबरको नगद फेला परेको हो। बरामद रकममा नेपाली एक हजार दरका १८० थान, पाँच सय दरका १३३ थान, एक सय दरका ३७ थान र भारतीय एक सय दरको एक थान नोट रहेको छ।

एसपी रबिन कार्कीका अनुसार भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि ती महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।

सीमावर्ती क्षेत्रमा अवैध आर्थिक गतिविधि बढ्दै गएपछि निगरानी र चेकजाँच कडा पारिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्