नेभिगेशन
नेपाल प्रहरी

प्रेम सम्बन्धबाट उत्पन्न विवादपछि युवकको हत्या घटनामा प्रेमिकासहित तीन जना पक्राउ

काठमाडौं ।  एक युवकको घाँटी रेटेर हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका र उनका दुई जना आफन्त रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। गत फागुन १४ गते बिहीबार अपरान्ह करिब ४ बजेतिर औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडकबाट करिब ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो। घाँटी काटिएको अवस्थामा भेटिएको शवको पहिचान हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलका रूपमा भएको प्रहरीले जनाएको छ। उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुमित र हंसपुर नगरपालिका–६, सोनिगामाकी १७ वर्षीया काजल कुमारी मण्डलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका पारेर सुमितलाई बोलाएकी थिइन्। त्यसक्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद चर्किएको बताइएको छ।

रुग्मबहादुर कुँवरका अनुसार विवादपछि काजलका २० वर्षीय दाजु दीपेशकुमार मण्डल र २९ वर्षीय दाजु परमेश्वर मण्डलले सुमितका दुवै हात भैँसी बाँध्ने डोरीले पछाडि बाँधेका थिए। त्यसपछि उनलाई मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटर टाढा, मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो। त्यहाँ धारिलो हतियार (खुकुरी/दाउ) प्रहार गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाइ छ।

घटनापछि प्रमाण नष्ट गर्ने उद्देश्यले सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाइएको थियो। प्रहरीले मोटरसाइकल, हत्यामा प्रयोग गरिएको खुकुरी र हात बाँध्न प्रयोग गरिएको डोरी बरामद गरेको जनाएको छ।

प्रहरीले काजल कुमारी मण्डल, दीपेशकुमार मण्डल र परमेश्वर मण्डललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

एसपी कुँवरका अनुसार धनुषामा हालै भएका ६ वटा हत्यामध्ये ४ वटा घटनाको सफल अनुसन्धान गरी संलग्नलाई कानुनी दायरामा ल्याइसकिएको छ भने बाँकी दुई घटनाको पनि सूक्ष्म अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्