नेभिगेशन
नेपाल प्रहरी

सामाजिक सञ्जाल दुरुपयोगमा भारतीय युवक पक्राउ, साइबर अपराध मुद्दा दर्ता

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गर्दै अश्लील सामग्री प्रसारण गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवक भारतको मोतिहारी निवासी २४ वर्षीय राज कुमार जैसवाल रहेका छन् ।

प्रहरीका अनुसार जैसवालले इन्स्टाग्राममा नक्कली खाता सञ्चालन गरी आपत्तिजनक फोटो तथा भिडियो सार्वजनिक गर्ने र ह्वाट्सएपमार्फत गालीगलौज गर्ने गरेका थिए। यस सम्बन्धमा पीडितबाट चरित्रहत्या हुने खालको सामग्री फैलाइएको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले सूक्ष्म अनुसन्धान गर्दै पर्सा प्रहरीसँग समन्वय गरी उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो। उनी फागुन ३० गते वीरगञ्ज महानगरपालिका–१५ स्थित बसपार्क क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका थिए।

हाल उनलाई थप अनुसन्धानका लागि मोरङ ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार जैसवालविरुद्ध विद्युतीय (साइबर) अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। मोरङ जिल्ला अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्