काठमाडौं । नेपाल प्रहरीको लागुऔषध विरुद्धको कारबाहीमा १० जना पक्राउ परेका छन्।
लागुऔषधविरुद्धको कारबाहीमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय देबेन्द्र खत्रीलाई १९० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट करिब ३ किलो ४ सय ३५ ग्राम गाँजासहित थाइल्याण्डका नागरिक ३९ वर्षीय योंगयुत थुइओन पक्राउ परेका छन्। थाइ एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई जाँचका क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट ७३ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइनसहित ३१ वर्षीय सनम बुर्जा मगर पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
कैलालीको टीकापुर नगरपालिका–९ बाट २ ग्राम ४ सय मिलिग्राम खैरो हेरोइनसहित ३० वर्षीय सागर रावल र १९ वर्षीय जिबन कुँवर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले मोटरसाइकल जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरसहित २४ वर्षीय बिपिन दाहाल पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ जुटमिलबाट ४ ग्राम ६ सय ५० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मोहन चौधरी पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ कञ्चनलाइनस्थित शिखर खाजा घरबाट ट्रामाडोल ६ सय १० ट्याब्लेट, स्पास्पेन २ सय ९० ट्याब्लेट र डिकोलिक ३ सय २० ट्याब्लेटसहित ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राई पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ९ ग्राम ६ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २४ वर्षीय भिम राना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले मोटरसाइकल जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। साथै फरार रहेका अर्का एक व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित घटनाका बारेमा सम्बन्धित प्रहरी कार्यालयले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।