काठमाडौं । नेपाल प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाही देशका विभिन्न स्थानबाट २६ जना लागुऔषधसहित पक्राउ परेका छन् ।
नेपाल प्रहरीले जानकारी दिएअनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट १२ ग्राम ६ सय ४० मिलिग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ बेसीगाउँका २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, गोकर्णेश्वर–८ का ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्दै आएका सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई तथा गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशल चोकबाट २ हजार २ सय १० ट्याब्लेट ट्रामाडोल र २ हजार ३ सय २० ट्याब्लेट स्पास्पेनसहित २४ वर्षीय सुशन राई पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट कुशलबजारबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीबाट ४ सय ८० ट्याब्लेट स्पास्मोसहित ३३ वर्षीय बर्कत अली पक्राउ परेका छन् । प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले भारतबाट खुनगाईतर्फ आउँदै गरेको लु ४७ प ३८११ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको जनाएको छ ।
झापाको कनकाई नगरपालिका–५ चाप्रमारीबाट ११ ग्राम ९ सय ७० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–५ का २६ वर्षीय जितबहादुर लिम्बु र दमक नगरपालिका–६ का २० वर्षीय प्रदीप रसायली रहेका छन् । अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ स्थित आरबी होटलबाट १ सय २० मिलिग्राम खैरो हेरोइनसहित होटल सञ्चालक ३६ वर्षीय तिलकबहादुर वलीसहित ४ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरसमेतबाट खटिएको टोलीले होटल तलासीका क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट १९ ग्राम १ सय ६० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–४ का ३० वर्षीय तेजबहादुर बिटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का १९ वर्षीय सोहन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले से १ ह २२११ नम्बरको अटो जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानका लागि अटो चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही स्थानबाट ३ ग्राम ६ सय ६० मिलिग्राम खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–१ का २१ वर्षीय दिच्छु चौधरीसहित ३ जना पक्राउ परेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बा ६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट ३ सय ५० मिलिग्राम ब्राउन सुगरसहित इटहरी–२ का ३० वर्षीय रोशन धामी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा डेरा गरी बस्दै आएकी ४० वर्षीया विष्णु याखा ९२ किलो गाँजासहित पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले कोठा तलासीका क्रममा गाँजा बरामद गरेको जनाएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १ सय ८० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर–५ गुलरियाका ३१ वर्षीय पारस जोशी, कृष्णपुर–६ मौरीफाटाका २३ वर्षीय भरत रोकाया र कृष्णपुर–७ कलुवापुरका १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३ सय १० ग्राम गाँजासहित पर्साको बिन्दबासिनी गाउँपालिका–४ मधुवनका ६० वर्षीय लक्चन हजरा पक्राउ परेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।