नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधविरुद्ध विशेष अपरेशन: १ हजार बढी पक्राउ, ठूलो परिमाणमा लागुऔषध बरामद

काठमाडौं। नेपाल प्रहरीको लागुऔषधविरुद्धको कारबाहीमा १ हजार बढी कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरीले देशव्याप्यी रुपमा सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत बैशाखमा १ हजार ५६ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू मध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना तथा लागूऔषध नियन्त्रण ब्यूरो बाट ४२ जना पक्राउ परेका हुन्।

उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका लागुऔषध समेत बरामद गरेको छ। बरामद गरिएका लागुऔषधमा १ हजार ८ सय २० किलो बढी गाँजा, १९ किलो बढी चरेस, ४ किलो बढी हेरोइन, करिब ८ किलो अफिम, ३३ ग्राम बढी कोकिन तथा ११ किलो बढी पोलेन रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी, नियन्त्रित लागुऔषधतर्फ डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजारभन्दा बढी ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट र स्पास्मो २१ हजारभन्दा बढी ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले लागुऔषध कारोबार लगायत यस गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय र देशभरका प्रहरी इकाइहरूलाई सक्रिय बनाएको जनाएको छ।

साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध उत्पादन, ओसारपसार र प्रयोगका नकारात्मक असरबारे जनचेतना फैलाउने अभियानसमेत सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्