नेभिगेशन
सुरक्षा अपडेट

पानी भरिएको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । पानी भरिएको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–७ मा रहेको पशु हाटबजार क्षेत्रको पानी भरिएको खाल्डोमा डुबेर  अवास शेखका दुई छोरी १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र  ७ वर्षीय छोरा साइफुल शेखको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै बालबालिका खेल्ने क्रममा पानी भरिएको खाल्डोमा पुगेका थिए। उनीहरू डुबेको थाहा पाएपछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए। तर उपचारअघि नै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

अवास शेखको परिवार लामो समयदेखि गोलबजार क्षेत्रमा बसोबास गर्दै आएको र कवाडी संकलन गरेर जीविकोपार्जन गर्दै आएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेको खाल्डो पशुहरूलाई पानी खुवाउने प्रयोजनका लागि बनाइएको प्रारम्भिक जानकारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्