नेभिगेशन
सुरक्षा अपडेट

निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी महिलामाथि बाघको आक्रमण, अवस्था गम्भीर

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

घाइते हुनेमा बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी धनादेवी उपाध्याय रहेकी छन्। प्रहरीका अनुसार आइतबार बेलुका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा घाँस काट्ने क्रममा उनीमाथि बाघले अचानक आक्रमण गरेको हो।

उपाध्यायसँगै रहेका स्थानीयले तत्काल होहल्ला गरेपछि बाघ भागेको प्रहरीले जनाएको छ। आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

घाइते उपाध्यायलाई तत्काल उद्धार गरी उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ। हाल त्यहीँ उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्ने भएकाले जंगलमा घाँस, दाउरा वा अन्य कामका लागि जाँदा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्