नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनाका दुई घाइतेको सशस्त्र र नेपाल प्रहरीद्वारा उद्धार

पोखरा । कास्कीको मादी गाउँपालिका–५ काउरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका दुवै जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।

थाकबाट काउँखोलातर्फ जाँदै गरेको ग ११ प ८९४० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे अस्थायी प्रहरी चौकी छाचोकबाट जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस छाचोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको हो।

दुर्घटनामा मादी गाउँपालिका–७ घर भई हाल रुपा गाउँपालिका–१ बस्दै आएका ३४ वर्षीय आकाश मल्ल र मादी गाउँपालिका–५ भुमरे निवासी अन्दाजी ५७ वर्षीय टेकबहादुर मल्ल घाइते भएका छन्।

उद्धारपछि दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेमध्ये टेकबहादुर मल्लको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्