नेभिगेशन
ट्राफिक प्रहरी

४ हजार बढी सवारीसाधन सुदूरपश्चिम ट्राफिक प्रहरीको कारबाहीमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको एकमहिने ट्राफिक व्यवस्थापन अभियानबाट उल्लेखनीय उपलब्धि हासिल भएको छ। असार महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ९१ वटा सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले मंगलबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार ट्राफिक नियम पालना गराउन प्रदेशभर नियमित सवारी जाँच, मापसे परीक्षण, ट्राफिक सचेतना, ओभरलोड नियन्त्रण तथा विशेष निगरानी अभियान सञ्चालन गरिएको थियो।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४ सय ७३ जना चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट २ लाख ५५ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ। मापसेका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न रातिको समयमा समेत नियमित परीक्षणलाई तीव्र बनाइएको उनले बताए।

त्यसैगरी, असार महिनामा तीन चरणमा सञ्चालन गरिएको लागुऔषध सेवन (लापसे) परीक्षण अभियानका क्रममा ८ जना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई कारबाहीमा मात्र सीमित नराखी जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिएको छ। असारभर प्रदेशका विभिन्न जिल्ला, विद्यालय, क्याम्पस, स्थानीय तह, सार्वजनिक स्थल तथा यातायात व्यवसायीसँगको सहकार्यमा ५ सय ८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममार्फत २ लाख २६ हजार ६ सय ६६ जना नागरिकलाई ट्राफिक नियम, सुरक्षित यात्रा, हेल्मेट तथा सिटबेल्टको प्रयोग, लेन अनुशासन, गति नियन्त्रण र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ।

यस्तै, राजमार्ग तथा मुख्य सडकमा सञ्चालन गरिएको ओभरलोड नियन्त्रण अभियानअन्तर्गत क्षमताभन्दा बढी भार बोकेर सञ्चालन गरिएका ११ वटा मालवाहक सवारीसाधनलाई कारबाही गरिएको छ। ती सवारीबाट ५१ हजार रुपैयाँ जरिवाना असुल गरिएको ट्राफिक प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण सडकको आयु घट्ने, दुर्घटनाको जोखिम बढ्ने तथा यातायात व्यवस्थापनमा समस्या आउने भएकाले यस्तो अभियानलाई निरन्तरता दिइने बताइएको छ।

ट्राफिक प्रहरी उपरीक्षक कार्कीले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै चालक, यात्रु तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको नियमित निगरानी, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताए।

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले सञ्चालन गरेका कारबाही र सचेतनामूलक कार्यक्रमले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुगेको विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्