नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले फेला पार्‍यो चोरी भएका ५० मोटरसाइकल र स्कुटर

रकाठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल तथा स्कुटर ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले २८ मोटरसाइकल र २२ स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।

ट्राफिक प्रहरीका अनुसार चोरी भएका सवारी साधनमध्ये केही वास्तविक र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा नयाँबसपार्क, टोखा, गंगाहिटी, बालाजु, बाफल, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथलीलगायतका क्षेत्रबाट बरामद भएका थिए।

यीसहित साउन महिनामा मात्रै १४६ वटा चोरी भएका दुईपांग्रे सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ। चोरीमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरी विभिन्न प्रहरी परिसर तथा वृत्तमा बुझाइएको छ।

ट्राफिक प्रहरीले सवारी साधन चोरीबाट जोगाउन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्न र सम्भव भए जीपीएस जडान गर्न आग्रह गरेको छ। सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा जानकारी गराउन सकिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्