नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले फेला पारेका चोरीका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।

कार्यालयमा प्राप्त निवेदन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्ने क्रममा ट्राफिक प्रहरीले केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला पारेको थियो। ती सवारीसाधन काठमाडौँ उपत्यकाका नयाँ बसपार्क, टोखा, नेपालटार, तारेभिर, बालाजु, बाफल, लैनचौर, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, लुभू, बोहोराटार, नयाँ बस्ती, हनुमानस्थान र सातदोबाटोलगायतका स्थानबाट फेला पारिएका थिए।

आज हस्तान्तरण गरिएका ५० वटासहित साउन महिनामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २१३ वटा सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। त्यस्तै, चोरीका १८ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३१ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।

सवारीसाधन चोरी हुन वा हराउन नदिन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र जीपीएस जडान गर्न एसएसपी काफ्लेले अनुरोध गर्नुभएको छ। साथै, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि उहाँले सुझाव दिनुभएको छ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न सकिनेछ। साथै, नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्