नेभिगेशन
सुरक्षा अपडेट

मापसे गरी चलाएको मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका तीन प्रहरी घाइते

धनगढी । कैलालीको धनगढीमा सवारीसाधन जाँचका क्रममा खटिएका तीन प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन्। दुर्घटनामा घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्प नजिक बुधबार साँझ सवारीसाधन जाँच गरिरहेका प्रहरीलाई से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। तीव्र गतिमा रहेको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा प्रहरी सहायक हवल्दार ३८ वर्षीय उज्ज्वलसिंह साउद, हवल्दार ३८ वर्षीया राधिका शाही र सहायक हवल्दार ३५ वर्षीया कमला खत्री घाइते भएका छन्। उनीहरू सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन्।

घाइतेमध्ये साउदको अवस्था बढी गम्भीर छ। उनको एउटा खुट्टा भाँचिनुका साथै टाउको र छातीमा चोट लागेको छ। उनको आइसियूमा उपचार भइरहेको छ।

शाहीको छाती र खुट्टामा चोट लागेको छ भने खत्रीको छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। शाहीको अवस्था मध्यम र खत्रीको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीले मदिरा सेवन (मापसे) गरेको पुष्टि भएको छ।

दुर्घटनापछि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलको पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समीर चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्