नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आउँदै गरेका दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। सीमा सुरक्षा, नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति तथा महत्वपूर्ण संरचनाको सुरक्षा, विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउँदै सुरक्षित, शान्तिपूर्ण र मर्यादित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने उद्देश्यले असोज २२ गतेदेखि उक्त योजना देशभर लागू गरिएको हो।

सुरक्षा व्यवस्थापनलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले २८ हजार १ सय २६ जना जनशक्ति परिचालन गरेको छ। थप ४ हजार ५ सय जनशक्तिलाई युनिटमा तत्काल खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

चाडपर्वको समयमा सीमावर्ती क्षेत्र तथा अन्य स्थानमा हुन सक्ने अप्रिय घटना रोक्न आवश्यक स्रोतसाधन र प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको छ। देशभरका सशस्त्र प्रहरी बलका इकाइहरूले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध न्यूनीकरण गर्दै नेपाली नागरिक तथा नेपाल प्रवेश गर्ने पर्यटकको सुरक्षित र सहज आवागमनका लागि आवश्यक व्यवस्था मिलाएका छन्।

त्यस्तै, जुनसुकै प्रकारको विपद्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्‍याउन भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष (Help Desk), १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष (Health Desk) र १३ स्थानमा पर्यटक सहायता कक्ष (Tourist Help Desk) स्थापना गरिएको छ। समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती क्षेत्रमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ।

झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त स्निफिङ डग (K–9 Team) समेत परिचालन गरिएको छ।

त्यसैगरी, दसैँ, तिहार, छठ तथा अन्य चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रणका साथै मुख्य राजमार्गमा हुन सक्ने घटना तथा दुर्घटना न्यूनीकरण र समयमै उद्धार गर्न ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुन सक्ने ठूलो दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइते तथा बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (M.C.V.) समेत सातै प्रदेश र उपत्यकाका १६ स्थानमा तैनाथ गरिएको छ।

प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस तथा १६ वटा स्थायी विपद् बेसमा आवश्यक स्रोतसाधनसहित तालिमप्राप्त दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक ४ सय १५ स्थानमा पिकेट, ४ सय १८ स्थानमा चेक प्वाइन्ट, ६ सय १ वटा पैदल गस्ती, ५ सय ५५ वटा मोबाइल गस्ती, १ सय ८२ वटा लामो दूरीका गस्ती, १ सय ४६ वटा क्यूआरटी, १४ वटा बम डिस्पोजल टोली, ३७ वटा एम्बुलेन्स, २ सय ५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा तैनाथ रहनेछन्।

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दैनिक ५ सय ४ वटा सीमा नाका पिकेट, ४२ वटा सीमा लिङ्क पेट्रोलिङ तथा ६ वटा बोर्डर इन्टर्‍याक्सन टिम (BIT) परिचालन गरिएको छ। चाडपर्व अवधिभर आवश्यकताका आधारमा समकक्षी सुरक्षा निकायसँग ९ सय २४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना रहेको छ।

सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि आवश्यकताअनुसार २१ वटा ड्रोन परिचालन गरिएको छ। सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४ सय १२ वटा सीसीटीभी क्यामेरामार्फत प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटबाट २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, समग्र सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन ड्युटी टोली खटाइनेछ।

आपद्–विपद्मा परेका नागरिकले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्