नेभिगेशन
नेपाल प्रहरी

मन्दिर परिसरमा मृत फेला परेका पुरुषको घटनालाई धार्मिक रंग नदिन प्रहरीको आग्रह

काठमाडौँ । धनुषाको हनुमान मन्दिर परिसरमा एक व्यक्ति मृत फेला परेको घटनालाई धार्मिक विवादसँग जोडेर नहेर्न जिल्ला प्रहरी धनुषाले सर्वसाधारणसँग आग्रह गरेको छ। 

जिल्लास्थित सबैला नगरपालिका–१२ को कडेरी हनुमान मन्दिर परिसरमा बिहीबार राति करिब ४०-४५ वर्षीय बन्ठु राउत कडेरी मन्दिर परिसरमा सुतेको अवस्थामा मृत भेटिएका थिए। प्रारम्भिक निरीक्षणका क्रममा उनको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट यो धार्मिक कारणभन्दा पनि आपराधिक प्रकृतिको घटना भएको संकेत देखिएको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा घटनालाई धार्मिक विवादको रूपमा व्याख्या नगरी शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्न सबै पक्षलाई सहयोग गर्न अपिल गरिएको छ।

अनुसन्धानका क्रममा मृतक धनुषाको हंसपुर नगरपालिका–३, मल्हेनीयाका स्थायी बासिन्दा रहेको तथा उक्त क्षेत्रमा घुमफिर गर्ने व्यक्तिका रूपमा परिचित रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त खोजी कुकुर परिचालन गरिएको छ भने शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्