नेभिगेशन
सुरक्षा अपडेट

प्यूठानको माडी र लुङ्ग्री खोला किनारमा चार शव भेटिए, सबैको पहिचान खुल्न बाँकी

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा बिहीबार एकैदिन चार जनाको शव भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। माडी र लुङ्ग्री खोलाको किनारमा छुट्टाछुट्टै अवस्थामा शव फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी–९ जुडापाटामा माडी खोलाको किनारमा करिब १२-१३ वर्ष उमेरका बालक मृत अवस्थामा भेटिएका छन्। बालकको परिचय भने खुलेको छैन। यसैगरी, स्वर्गद्वारी–३ किमिचौरमा माडी खोलाको किनारबाट एक पुरुषको शव भेटिएको छ। उक्त शवको कम्मरभन्दा माथिको भाग मात्रै रहेको प्रहरीले जनाएको छ।

स्वर्गद्वारी–४ गोठीबाङ क्षेत्रमा पनि एक महिलाको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–५ सरोजामा लुङ्ग्री खोलाको किनारमा बिहान करिब साढे ९ बजे अर्को महिलाको शव भेटिएको हो। उक्त शवको टाउको र बायाँ खुट्टा नरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयबाट सूचना प्राप्त भएपछि भिङ्ग्री, लामाचौर र बिजुवारबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो।

प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको नेतृत्वमा भिङ्ग्रीबाट सात जना, प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको नेतृत्वमा लामाचौरबाट चार जना तथा प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा बिजुवारबाट १० जनाको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चारवटै शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाको प्रकृति, शवको अवस्था र मृत्युको कारणबारे समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्