काठमाडौं। कुवेतमा बन्धकजस्तै अवस्थामा राखेर शोषण गरिँदै आएका एक नेपाली महिलाको उद्धारका क्रममा प्राप्त सूचनाले मानव तस्करीको ठूलो जालोसमेत उजागर भएको छ। राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीलाई आएको गोप्य सूचनाका आधारमा सुरु भएको अनुसन्धानबाट थप नौ नेपाली महिला तस्करीको जोखिममा रहेको खुलेपछि उनीहरूको समेत उद्धार गरिएको हो।
केही दिनअघि एक युवकले राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई फोन गरेर आफ्नी दिदी कुवेतमा समस्यामा परेको जानकारी गराएका थिए। उनले ती महिलालाई राखिएको स्थानबारे समेत सूचना दिएपछि विभागका अधिकारीले विषयलाई प्रधानमन्त्री कार्यालयको टोलीसम्म पुर्याएका थिए।
त्यसपछि सरकारी संयन्त्रको समन्वयमा कुवेतमा रहेकी महिलाको उद्धार गरी साउन ३० गते नेपाल ल्याइएको थियो। उनीमाथि भएको सोधपुछबाट मानव तस्करीमा संलग्न समूहबारे महत्वपूर्ण जानकारी खुलेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ती महिलालाई गिरोहले भिजिट भिसामा ओमान पुर्याएको थियो। त्यहाँबाट उनलाई घरेलु कामदारका रूपमा कुवेत पठाइएको खुलेको छ।
उद्धारपछि पीडित महिलाले दिएको बयानका आधारमा प्रहरीले तस्करीमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा घर भएकी ममता चापागाईंलाई पक्राउ गरेको हो।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार चापागाईंलाई थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको छ। पीडित महिलासँग गरिएको सोधपुछका क्रममा चापागाईंको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको खड्काले बताए।
अनुसन्धान गर्दै जाँदा चापागाईं संलग्न समूहले थप नौ नेपाली महिलालाई समेत कुवेत पठाउने तयारी गरिरहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले काठमाडौंको टोखास्थित एक घरमा राखिएका ती महिलाहरूको खोजी गरी भदौ ३ गते राति उद्धार गरेको थियो।
प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूलाई ओमान पठाउने तयारीका साथ सेल्टरमा राखिएको थियो। उनीहरूलाई भदौ ५ गते ओमान पठाउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विभिन्न जिल्लाबाट ल्याइएका तथा सामान्य लेखपढसमेत गर्न नसक्ने महिलालाई गिरोहले ‘फ्रि भिसा’मा विदेश पठाइदिने प्रलोभन देखाउने गरेको प्रहरीको भनाइ छ। यही प्रलोभनमा पारेर उनीहरूलाई ओमान हुँदै कुवेत पुर्याउने योजना बनाइएको खुलेको छ।
अनुसन्धानका क्रममा कुवेत पुगेपछि महिलाहरूलाई घरेलु कामदारका रूपमा विभिन्न घरमा काम लगाउने र रोजगारदाताबाट नेपाली तस्करहरूले मोटो रकम असुल्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।