नेभिगेशन
सुरक्षा विशेष

रसुवाको बाढीपछि दाइ सम्पर्कविहीन, खोजी गरिदिन बहिनीको सरकारसँग गुहार

काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनामा कार्यरत बर्दियाका रमेस बहादुर सुनार परिवारको सम्पर्कमा नआएपछि उनकी बहिनी पूजा सुनारले दाइको खोजी तथा उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग गुहार गरेकी छन्।

ठाकुरबाबा नगरपालिका–६, तुल्सीपुर, बर्दिया निवासी रमेस बहादुर सुनार रसुवागढीस्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छन्। बाढी आउनुभन्दा करिब चार दिनअघि उनले आयोजना क्षेत्रबाट भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

रसुवामा भीषण बाढी आएको खबरपछि परिवारले उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा समेत सम्पर्क हुन नसकेको जनाएको छ। लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ।

उनकी बहिनी पूजा सुनारले रमेस बहादुर सुनारलाई कसैले देखेको, भेटेको वा उनको अवस्थाबारे कुनै जानकारी पाएको भए तत्काल खबर गरिदिन आग्रह गरेकी छन्। साथै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित सम्पर्क नम्बर वा अन्य जानकारी उपलब्ध भए खोजीमा सहयोग गरिदिन उनले अपिल गरेकी छन्।

रमेस बहादुर सुनारबारे जानकारी हुनेले ९८४३४१३१८८ वा ९८६४३२७९३० मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ। उनकी बहिनी पूजा सुनारले दाइ जहाँ भए पनि सकुशल रहेको खबर पाउने आशा व्यक्त गर्दै खोजीमा सहयोग गर्न सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सर्वसाधारणसँग अपिल गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्