नेभिगेशन
सुरक्षा विशेष

छोछेन–पुरेपु संगममा बन्यो विशाल ताल,२० लाख घनमिटर पानी जम्मा, चीनले भन्यो–फुट्ने जोखिम उच्च

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

चीनको केन्द्रीय टेलिभिजनका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बाहिरिनसमेत थालिसकेको जनाइएको छ।

आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै जाँदा प्राकृतिक बाँध भत्किन सक्ने र त्यसबाट आकस्मिक ठूलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ। सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कता र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढीको सिमुलेसन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी पहिरोले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित च्यिरोङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ पक्षले विभिन्न तहमा उद्धार तथा राहत टोली परिचालन गरेको छ।

उद्धार तथा राहत कार्यमा आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा विभिन्न राहत संस्थाहरू परिचालित छन्। उनीहरूले प्रभावित क्षेत्रमा जनशक्ति, हेलिकोप्टर तथा अन्य विमान, उद्धार उपकरण र राहत सामग्री पठाइरहेका छन्।

कठिन भौगोलिक अवस्था, निरन्तरको वर्षा र थप विपद्को जोखिमबीच उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिएका छन्। सम्भावित प्राकृतिक बाँध फुट्ने अवस्थालाई समेत ध्यानमा राख्दै चीनले जोखिम मूल्याङ्कन र आपत्कालीन उद्धारको तयारीलाई अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्