नेभिगेशन
सुरक्षा अपडेट

सडक निर्माणस्थलमै खस्यो पहिरो, दुई कामदारको मृत्यु, एक जना घाइते

कास्की । निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनामा काम गर्ने क्रममा खसेको पहिरोले दुई कामदारको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–१ साँदलमा आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने क्रममा माथिबाट अचानक पहिरो खसेको हो ।

पहिरोमा परेर गम्भीर घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

सोही घटनामा इलामका ३२ वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको घुँडामा चोट लागेको छ।

शनिबार बिहान करिब ११ बजे पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला अचानक माथिबाट पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजना २४ मेगावाट क्षमताको आयोजना हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्