नेभिगेशन
सुरक्षा अपडेट

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा जिल्ला प्रशासनका कर्मचारीसहित दुई जनाको मृत्यु

काठमाडौं ।  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज एकाबिहानै करिब २ बजेर ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापाको बिहान ५ः११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको पनि उपचारकै क्रममा बिहान ४ः५२ बजे मृत्यु भएको हो। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्