नेभिगेशन
नेपाल प्रहरी

११ महिनापछि भारतको मुजफ्फरपुरबाट उद्धार गरिइन् नेपाली महिला, परिवारको जिम्मा लगाइयो

काठमाडौं । भारतको मुजफ्फरपुरमा करिब ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगन्जको समन्वयमा उद्धार गरिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार भारतीय प्रहरीले गत साता मुजफ्फरपुरमा अलपत्र अवस्थामा तामाङलाई फेला पारेको थियो। त्यसपछि उनलाई स्थानीय शान्ति कुटीर आश्रममा राखिएको थियो।

महिलाको अवस्थाबारे जानकारी पाएपछि पर्सा प्रहरी र मानवसेवा आश्रम वीरगन्जको टोलीले आवश्यक समन्वय गरी गत शनिबार उद्धार गरेको थियो। उद्धारपछि वीरगन्ज ल्याइएकी तामाङलाई परिवारसँग सम्पर्क गराई प्रहरीले आज उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाएको डिएसपी मल्लले जानकारी दिए।

११ महिनापछि छोरीलाई सकुशल भेटेपछि परिवारमा खुसी छाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्