नेभिगेशन
नेपाल प्रहरी

चोरीका मोटरसाइकलमा आएर सुनको सिक्री र नगद लुट्ने गिरोहका तीन जना पक्राउ

काठमाडौं । चोरीका मोटरसाइकल प्रयोग गरी काठमाडौं उपत्यकामा सुनका गरगहना तथा नगद लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरू मोटरसाइकल चोरीदेखि हातहतियार देखाएर लुटपाट गर्ने घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई काठमाडौंको कलंकी ढुङ्गेअड्डा बस्ने २६ वर्षीय आयन माझी तथा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन्। मनोज र राकेश भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले गत असोज १३ गते राति काठमाडौंको डल्लु चौतारास्थित सडकमा कारभित्र रहेका एक व्यक्तिको साढे तीन तोलाको सुनको सिक्री लुटेका थिए। त्यसको भोलिपल्ट राति बौद्ध गेट नम्बर २ नजिक तरकारी किन्न निस्किएका एक व्यक्तिको दुई लाख रुपैयाँसमेत लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ।

लुटपाटका लागि उनीहरूले चोरीका मोटरसाइकल प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। सर्वसाधारणसँग बाटो वा ठेगाना सोध्ने बहाना बनाएर सिक्री लुट्ने तथा इनड्राइभ र पठाओको बहाना गरी बिहान र रातिको समयमा सुनसान बाटोमा हिँड्ने व्यक्तिलाई निशाना बनाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विशेषगरी मर्निङ वाकमा निस्किएका तथा तरकारी किन्न जाने महिला र पुरुषलाई लक्षित गरी उनीहरूले लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आयनलाई काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटी पुल नजिकबाट तथा मनोजकुमार र राकेशलाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ बाट पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्