काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट १५ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार झापाक्क बिर्तामोड नगरपालिका-१ बाट खैरो हेरोइन ६ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-८ बस्ने २८ वर्षीय सुमित श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै झापा गाउँपालिका-४ स्थित पेच्कर बस्तीबाट ब्राउनसुगर १ ग्राम २ सय मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २१ वर्षीय सन्देश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले उदयपुरको बेलका नगरपालिका-१ बाट अवैध गाँजा २ किलो सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-२ करैया बस्ने २४ वर्षीय प्रमोद चौधरी र २६ वर्षीय रोशन चौधरी रहेका छन् । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले पुरन्दहबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ प ११६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका-२ पुरानो मकवानपुर रोड बस्ने शिशिर राजथला समेत ५ जनालाई खैरो हेरोइन ४ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले शिशिरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ हटिया दाबिलेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय विदन कुमार भुजेल र बारा बिश्रामपुर गाउँपालिका-८ नकटुवा टोल बस्ने २१ वर्षीय शेख आजाद रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले विदन कुमारको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरीको सम्सी गाउँपालिका-६ सम्सी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७ ट्याब्लेट र कार्टस्पास ८ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ संग्रामपुर बस्ने रिचमान अंसारी र काभ्रे नमोबुद्ध नगरपालिका भकुण्डेबेसी बस्ने २४ वर्षीय संदिप चिमोरिया रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह ३९३१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयले यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।